Blog

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

  • निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर बाट शिखर नगरपालिकामा२८२ जनाले सेवा लिए


    डोटी: दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले  स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना तथा शिखर नगरपालिकाको समन्वय तथा सहयोग र केयरटेकर अस्पताल, धनगढीको सहकार्यमा डोटीको शिखर नगरपालिका–४ धुर्कोटमा  आधारभूत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको शिबिर बाट २८२ जनाले सेवा लिएका छन ।
    शिविरमा विभिन्न किसिमका  रोगहरुको विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए। 


    शिखर नगरपालिकाका नगर प्रमुख  दिर्घ बहादुर बलायरले
    दुर्गम ठाउँका स्थानियले सहज रुपमा आफ्नो स्वास्थ्य परिक्षण गर्न पाउन भन्ने उधेश्यले स्वास्थ सिबिर आयोजना गरिएको र आगामी दिनमा यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

    स्वास्थ्य निर्देशनालय दिपायलले यस्ता शिविरले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने  जनाएको छ।

  • के.आई. सिंह गाउँपालिकामा दलित महिलालाई ५ दिने उद्यमशीलता तथा सिपविकास तालिम”

    डोटी, असार १८। दलित महिला संघ (FEDO) डोटीको आयोजनामा तथाके.आई. सिंह गाउँपालिका संगको साझेदारीमा वडा नं. ५ र वडा नं. ४ मा सञ्चालन गरिएको ५ दिने On-Farm तथा Off-Farm उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। दलित तथा सीमान्तकृत समुदायका महिलाहरूको आर्थिक आत्मनिर्भरता, उद्यमशीलता विकास तथा दिगो जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा दुवै वडाका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममा मह्संस्थाले गठन गरेका १० वटा समुहका २५/२५ जना गरि ५० जनाको सहभागिता रहेको थियो |


    तालिम वडा नं. ५ मा २०८३ असार १० गतेदेखि १४ गतेसम्म तथा वडा नं. ४ मा २०८३ असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो। तालिममा पहिलो दुई दिन उद्यमशीलता, व्यवसाय अवसर पहिचान, व्यवसाय योजना निर्माण, वित्तीय साक्षरता, बजार व्यवस्थापन, समूह उद्यम सञ्चालन, व्यवसाय दर्ता तथा उद्यम व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो भने पछिल्ला तीन दिन स्थानीय स्रोत–साधनमा आधारित अचार उत्पादन, गुणस्तर व्यवस्थापन, खाद्य स्वच्छता, लागत निर्धारण तथा बजारीकरण सम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो।


    तालिमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता चन्द्र सिंह धामी तथा सहजकर्ता कल्पना बम ले गर्नुभएको थियो। उहाँहरूले महिलाहरूलाई साना तथा घरेलु उद्योग स्थापना, उत्पादनको गुणस्तर सुधार, बजार प्रतिस्पर्धा, व्यवसाय विस्तार तथा स्थानीय स्रोतको सदुपयोगमार्फत दिगो उद्यम विकासका विषयमा व्यवहारिक तथा उपयोगी ज्ञान प्रदान गर्नुभयो।
    वडा नं. ५ मा आयोजित औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता दलित महिला संघ, फेडो डोटीकी जिल्ला अध्यक्ष सरिता दयाली ले गर्नुभएको थियो भने वडा नं. ५ का वडा अध्यक्ष श्री दुर्गा सिंह रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
    कार्यक्रमको उदेस्य प्रकास पार्दै दलित महिला संघ, फेडो डोटीका जिल्ला संयोजक शंकर विकले महिलामाथि हुने अधिकांश हिंसाको मूल कारण महिलाहरूको आर्थिक निर्भरता, निर्णय प्रक्रियामा न्यून सहभागिता तथा स्रोत–साधनमा सीमित पहुँच रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर, सामाजिक रूपमा सम्मानित, राजनीतिक रूपमा निर्णय प्रक्रियामा सहभागी र व्यक्तिगत रूपमा आत्मविश्वासी नभएसम्म हिंसामुक्त समाज निर्माण गर्न कठिन हुन्छ। त्यसैले महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा व्यक्तिगत सशक्तीकरण आजको आवश्यकता हो।”
    उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर समूहमा आधारित उद्यम सञ्चालन गर्न, स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन तथा अन्य महिलाहरूलाई समेत उद्यमशीलतामा प्रेरित गर्न आग्रह गर्नुभयो।
    प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा सिंह रावल ले स्थानीय सरकारले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी योजना तथा बजेट निर्माण प्रक्रियामा महिला समूहलाई लक्षित उत्पादनमुखी, सीप विकास तथा उद्यम प्रवर्द्धन कार्यक्रमहरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, महिलाहरूले सामूहिक रूपमा उद्यम सञ्चालन गर्ने वातावरण सिर्जना गर्न वडा कार्यालय आवश्यक समन्वय र सहकार्य गर्न सधैं तयार रहने बताउनुभयो।
    त्यसैगरी वडा नं. ४ मा आयोजित औपचारिक समापन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्री जयलाल धामी ले गर्नुभएको थियो भने के.आई. सिंह गाउँपालिकाकी उपाध्यक्ष श्रीमती मीना देवी बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
    समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष मीना देवी बिष्ट ले महिलाको आर्थिक सशक्तीकरणलाई गाउँपालिकाको विकासको महत्वपूर्ण आधारका रूपमा लिइएको बताउनुभयो। उहाँले गाउँपालिकाले निर्माण गरेको कृषि प्रवर्द्धन तथा संकलन केन्द्र लाई स्थानीय उद्यमी महिलाहरूको हितका लागि उपयोग गरिने जानकारी दिँदै भन्नुभयो, “यदि कुनै दिदीबहिनीहरूले व्यक्तिगत वा सामूहिक रूपमा स्थानीय उत्पादनमा आधारित व्यवसाय सञ्चालन गर्न चाहनुहुन्छ भने गाउँपालिकाले कृषि प्रवर्द्धन तथा संकलन केन्द्र निःशुल्क रूपमा उपलब्ध गराउनेछ। यसबाट स्थानीय उत्पादनको प्रशोधन, भण्डारण तथा बजारीकरणमा ठूलो सहयोग पुग्नेछ।”
    उहाँले महिलाहरूले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्दै स्थानीय स्रोत–साधनमा आधारित उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै गाउँपालिकाले आवश्यक समन्वय, सहकार्य तथा नीतिगत सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    समापन कार्यक्रमका अध्यक्ष जयलाल धामी ले तालिमले महिलाहरूमा उद्यमशील सोच, आत्मविश्वास तथा व्यवसाय सञ्चालन गर्ने क्षमता विकास गरेको उल्लेख गर्दै आगामी वर्षदेखि महिला समूहलाई लक्षित उत्पादनमूलक, सीप विकास तथा आयआर्जन केन्द्रित योजनाहरूलाई वडा तहबाट प्राथमिकताका साथ प्रस्ताव गरी सोहीअनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिलाहरूलाई समूहमा आधारित उद्यम स्थापना गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभयो।
    तालिममा सहभागी महिलाहरूले उद्यम सञ्चालन, लागत निर्धारण, बजार व्यवस्थापन, व्यवसाय दर्ता तथा गुणस्तरीय उत्पादनका विषयमा आफूहरूले पहिलो पटक व्यवहारिक रूपमा सिक्ने अवसर पाएको बताए। विशेषगरी अचार उत्पादन, प्याकेजिङ, लेबलिङ तथा बजारमा बिक्रीयोग्य उत्पादन तयार गर्ने सीपले आफ्नै गाउँघरमा आयआर्जनको अवसर सिर्जना गर्ने विश्वास उनीहरूले व्यक्त गरे।
    सहभागीहरूको तर्फबाट तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यक्तिगत तथा सामूहिक उद्यम सञ्चालन गर्ने, व्यवसाय दर्ता गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, महिला समूहमार्फत उत्पादन विस्तार गर्ने, अन्य महिलाहरूलाई समेत सीप हस्तान्तरण गर्ने तथा आर्थिक रूपमा आत्मनिर्भर बन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
    आयोजकका अनुसार यस तालिमले दलित तथा सीमान्तकृत समुदायका महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक तथा व्यक्तिगत सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै स्थानीय सरकार, सम्बन्धित निकाय र महिला समूहबीचको सहकार्यलाई थप मजबुत बनाउँदै महिला उद्यमशीलताको दिगो विकासमा समेत कार्यक्रमले सकारात्मक आधार तयार गरेको आयोजकको अपेक्षा रहेको छ।

  • महिला उद्यमी उत्पादित वस्तु प्रदर्शनी मेला सम्पन्न, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

    डोटी, असार १६ । दिपायल सिलगढी नगरपालिकाको आयोजनामा “महिला उद्यमी उत्पादित वस्तु प्रदर्शनी मेला–२०८३” दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा सम्पन्न भएको छ। मेलाको उद्देश्य महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय वस्तुको प्रवर्द्धन, बजार पहुँच विस्तार, उद्यमशीलताको विकास तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
    मेलामा नगरभित्रका महिला उद्यमी समूहले उत्पादन गरेका कृषि उपज, हस्तकला, वडा नं. कपास खेतीबाट उत्पादन गरिएका सिरक, डस्ना, तकिया, होजियारी सामग्री तथा अन्य स्थानीय उत्पादनहरू प्रदर्शनमा राखिएका थिए।
    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बाजी सिंह खड्काले नगरको समृद्धिको आधार कृषि नै भएको उल्लेख गर्दै कपास खेती विस्तारमार्फत बाहिरिने पूँजी रोक्ने लक्ष्य रहेको बताउनुभयो। वार्षिक रूपमा ठूलो परिमाणमा कपडा आयात हुँदा स्थानीय पूँजी बाहिरिने अवस्थालाई रोक्न प्रत्येक वडामा कपास खेती विस्तार गर्ने आफ्नो योजना रहेको र महिला समूहले उत्पादन गरेका कपासजन्य सामग्रीले उक्त सपना साकार पार्ने दिशामा महत्वपूर्ण योगदान दिएको उहाँले बताउनुभयो।
    जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले महिला समूह र सञ्जालमार्फत उत्पादन गरिएका सामग्रीले स्थानीय महिलाको आत्मनिर्भरता बढाएको भन्दै नगरपालिकाको प्रयासको प्रशंसा गर्नुभयो।
    नगरपालिकाकी उपप्रमुख कलावती महरा साउदले विभिन्न वडाका महिला समूहले उत्पादन गरेका सामग्री गर्व गर्नलायक रहेको बताउँदै इच्छा शक्ति, मेहनत र उद्यमशीलताकै परिणामस्वरूप आज ती उत्पादन प्रदर्शनीमा राख्न सम्भव भएको बताउनुभयो।

    प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रदर्शनीमा राखिएका सामग्रीको अवलोकन गर्दै स्थानीय उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धात्मक क्षमतामा थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। उहाँले उद्यम सञ्चालन गर्दा समूह वा सहकारीमार्फत अघि बढे जोखिम व्यवस्थापन, उत्तरदायित्व र दिगोपन बढ्ने उल्लेख गर्नुभयो।

    कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा समूहलाई सम्मान गरिएको थियो भने महिला उद्यमी समूहहरूलाई आवश्यक उपकरण पनि वितरण गरिएको थियो।
    दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सम्पन्न भएको उक्त मेला आसमान नेपाल तथा संयुक्त राष्ट्रसंघीय निकायको सहयोगमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमको सहकार्यमा आयोजना गरिएको थियो।

  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सार्वजनिक गर्‍यो वार्षिक प्रगति विवरण, उत्पादन र पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि

    डोटी, असार १६ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। डोटीमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा कार्यक्रम प्रमुख पिताम्बर बस्नेतले कृषि क्षेत्रका उपलब्धि, चुनौती तथा आगामी योजनासहितको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।
    प्रतिवेदनअनुसार कार्यक्रम  सञ्चालनपछि डडेल्धुरा र डोटी जिल्लामा आलु, तरकारी तथा अन्य बालीको उत्पादन र उत्पादकत्वमा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी आलु सुपरजोन तथा विभिन्न पकेट क्षेत्रहरूमा हिउँदे आलु खेतीको क्षेत्रफल विस्तार भएसँगै कृषकको आम्दानी वृद्धि हुनुका साथै स्वरोजगारका अवसरसमेत सिर्जना भएका छन्।
    कार्यक्रम कार्यान्वयनका क्रममा स्थानीय तहमा सूचीकृत सहकारी संस्था, कृषक समूह तथा कृषि उद्यमीमार्फत कृषि व्यवसायलाई व्यावसायिक बनाउने प्रयासलाई तीव्रता दिइएको प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा सिँचाइ पूर्वाधार निर्माण, प्लास्टिक घर (पोलीहाउस) स्थापना तथा मिनिटिलर ,आलुको ड्याम बनाउने मेसिन लगायत कृषि यन्त्र वितरण गरी कृषि यान्त्रीकरणलाई प्रोत्साहन गरिएको जानकारी दिइएको छ।
    चालु आर्थिक वर्षको वार्षिक वित्तीय तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रमले कृषक तथा प्राविधिकहरूका लागि विभिन्न तालिम सञ्चालन गरेको जनाएको छ। तालिममा महिला र पुरुष दुवैको उल्लेख्य सहभागिता रहेको तथा कृषि क्षेत्रमा आंशिक र पूर्ण रोजगारीका अवसरहरू पनि विस्तार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वीकृत वार्षिक कार्यक्रमअनुसार लक्ष्य र उपलब्धिको तुलनात्मक समीक्षा गर्दै बजेट खर्चको अवस्थासमेत सार्वजनिक गरिएको थियो।
    जिल्ला तथा पकेटगत प्रगति विवरणमा डोटी र डडेल्धुराका विभिन्न स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूको अवस्था प्रस्तुत गरिएको छ। केही क्षेत्रमा माटो परीक्षणलगायत प्राविधिक कारणले लक्ष्यअनुसार प्रगति हुन नसकेको स्वीकार गर्दै आगामी कार्यान्वयनमा सुधार गरिने जनाइएको छ।
    प्रतिवेदनमा कार्यक्रको जनशक्ति अवस्थासमेत समेटिएको छ। स्वीकृत दरबन्दीअनुसार कृषि  प्राविधिक  केही पद रिक्त रहेको जानकारी दिइएको छ।
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आलुको गुणस्तरीय बीउ उत्पादन, सिँचाइ पूर्वाधार विस्तार, कृषि हाटबजार तथा कोल्ड स्टोर निर्माणलाई प्राथमिकतामा राखिएको परियोजनाले जनाएको छ।
    वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनले सुदूरपश्चिम प्रदेशका डोटी र डडेल्धुरा जिल्लामा सञ्चालित कृषि आधुनिकीकरण कार्यक्रमको उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाको समग्र चित्र प्रस्तुत गरेको छ।
    कार्यक्रममा ९ वटै स्थानीय तहहरुका कृषि र भेटेरिनरी सम्बन्धी भए गरेका क्रियाकलाप सम्बन्धी पालिकाका शाखा प्रमुख तथा प्रतिनिधिहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए भने कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रमुखहरुले पनि संचालित कार्यक्रम बारे जानकारी दिएका थिए।

  • २३औँ राष्ट्रिय धान दिवस तथा ‘भिमदत्त उत्कृष्ट कृषक’ सम्मान कार्यक्रम सम्पन्न

    डोटी, असार १५। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ डोटीमा २३औँ राष्ट्रिय धान दिवस–२०८३ तथा ‘भिमदत्त उत्कृष्ट कृषक’ सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
    कृषि ज्ञान केन्द्र, डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लास्थित वर्षा होटल पछाडिको खेतमा कार्यक्रम आयोजना गरिएको हो। धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, धान उत्पादन वृद्धि तथा कृषि संस्कृतिको संरक्षणको सन्देश दिएका थिए।
    कार्यक्रममा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका तीन जना कृषकलाई ‘भिमदत्त उत्कृष्ट कृषक’ सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा दिपायल सिलगढी नगरपालिका–४ की देवी खड्का कठायत, कोषराज भट्टकर्ण मलासी रहेका छन्। उनीहरूलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कार प्रदान गर्दै कृषि क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको थियो।


    कृषि ज्ञान केन्द्र, डोटीका कार्यालय प्रमुख दुर्गा प्रसाद ओझाले सम्मानित कृषकहरूको मेहनत, लगनशीलता र सफलताले अन्य किसानलाई पनि व्यावसायिक तथा आधुनिक कृषि प्रणाली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषिमा युवा आकर्षण बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि क्षेत्रका प्राविधिक, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
    आयोजक कृषि ज्ञान केन्द्र, डोटीले जलवायु परिवर्तनका चुनौतीलाई मध्यनजर गर्दै जलवायुमैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, आधुनिक खेती प्रणाली तथा उत्पादन वृद्धि मार्फत धानमा आत्मनिर्भर बन्न सबै किसानलाई आग्रह गरेको छ। साथै, यस्ता सम्मान कार्यक्रमले कृषि पेशाप्रति किसानको उत्साह अभिवृद्धि गर्नुका साथै व्यावसायिक कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

  • खुटिया–दिपायल द्रुतमार्ग छिटो सम्पन्न गराउन हस्ताक्षर अभियान सुरु

    , असार १५। खुटिया–दिपायल द्रुतमार्ग निर्माण कार्य शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्ने उद्देश्यले डोटीमा हस्ताक्षर अभियान सुरु गरिएको छ।
    शैलेश्वरी क्षेत्र विकास समिती, डोटीको आयोजनामा सुरु गरिएको अभियानको उद्घाटन गर्दै समितिका अध्यक्ष प्रेमशंकर भट्टले खुटिया–दिपायल द्रुतमार्ग डोटी मात्र नभई सुदूरपश्चिमका अन्य जिल्लाका नागरिकका लागि पनि अत्यन्त महत्वपूर्ण जीवनरेखा (लाइफलाइन) रहेको बताउनुभयो।
    उहाँले द्रुतमार्ग निर्माणमा भइरहेको ढिलाइले स्थानीय बासिन्दा, यात्रु, व्यवसायी तथा समग्र क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।
    अध्यक्ष भट्टले अभियानलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी, विभिन्न संघ–संस्था तथा आम नागरिकले आफ्नो स्थानबाट सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विकासका साझा मुद्दामा सबै एकजुट हुनुपर्ने भन्दै अभियानमा व्यापक सहभागिताका लागि आग्रह गर्नुभयो।
    समितिका अनुसार हस्ताक्षर अभियानबाट संकलित हस्ताक्षर सम्बन्धित सरकारी निकायलाई बुझाइनेछ। अभियानमार्फत द्रुतमार्ग निर्माण कार्यलाई समयमै सम्पन्न गराई नागरिकले सहज, सुरक्षित र छिटो यातायात सेवा पाउने वातावरण निर्माण गर्न दबाब सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

  • तेस्रो शिखर शिक्षक सम्मेलन–२०८३ सम्पन्न, उत्कृष्ट विद्यार्थी, खेलाडी तथा योगदानकर्ताहरू सम्मानित

    डोटी, असार १४ । शिखर नगरपालिकाले “शिखर सरकारको इच्छा ,प्रबिधिमैत्री शिक्षा “भन्ने मूल नारासहित तेसो शिक्षक सम्मेलन–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको व्यावसायिक क्षमता विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षा, युवा तथा खेलकुद शाखाले सम्मेलन आयोजना गरेको  नगर प्रमुख दीर्घ बहादुर बलायरले बताउनुभयो ।


    श्री सिद्धेश्वर माध्यमिक विद्यालय, शिखर नगरपालिका–१०, बान्डुग्रीसैनमा आयोजित सम्मेलन शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह विशिष्ट अतिथि तथा शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराको विशेष उपस्थिति रहेको थियो।
    सम्मेलनका अवसरमा शिखर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम, शिखर शैक्षिक डायरी, विद्यालय अनुगमन प्रतिवेदन तथा शैक्षिक क्यालेन्डर सार्वजनिक (विमोचन) गरिएको थियो। यी सामग्रीले नगरभित्रको शिक्षण सिकाइलाई व्यवस्थित, प्रभावकारी र स्थानीय आवश्यकतासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
    कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी कक्षा ८, १० र १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शिखर नगरपालिकाका छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
    यसै अवसरमा शिक्षा, सामाजिक सेवा तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका संस्था तथा व्यक्तिहरूलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। नगरपालिकाले यस्ता सम्मानले शिक्षा, खेलकुद र सामाजिक सेवामा योगदान गर्ने व्यक्ति तथा संस्थालाई थप उत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।
    सम्मेलनमा सहभागी शिक्षक तथा सरोकारवालाहरूले प्रविधिमैत्री शिक्षण, गुणस्तरीय शिक्षा, स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विद्यालय व्यवस्थापनका विविध पक्षमा अनुभव आदान–प्रदान गरेका थिए।
    शिखर नगरपालिकाले आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधार, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • आयुर्वेद सेवाबारे सञ्चारकर्मीलाई अभिमुखीकरण

    डोटी, असार १३
    सुबास नेपाली

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दिपायलले सञ्चारकर्मीहरूका लागि आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
    सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको समन्वयमा सञ्चालन भएको उक्त कार्यक्रम शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दिपायलमा सम्पन्न भएको हो।
    कार्यक्रममा सञ्चारकर्मीहरूलाई आयुर्वेद सेवाको महत्व, रोगको रोकथाम, उपचार तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा आयुर्वेदको भूमिका, केन्द्रबाट उपलब्ध सेवा र समुदायमा आयुर्वेदबारे सही सूचना प्रवाह गर्ने विषयमा जानकारी गराइएको थियो।
    आयोजकका अनुसार सञ्चारमाध्यममार्फत आयुर्वेद सम्बन्धी तथ्यपरक सूचना जनसमुदायसम्म पुर्‍याई आयुर्वेद सेवाप्रति नागरिकको पहुँच र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
    कार्यक्रम कार्यालयका प्रमुख डा पुष्पा भुसालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमको प्रमुख आतिथ्यमा संचालन भएको थियो।कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो।